नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी नेपाल सुपर लिग (एनएसएल) पछि सुचारू गर्ने भएको छ।
राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले विश्वकप छनोटको तयारी एनएसएलपछि सुचारु गर्ने बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसलका लागि मंगलबारदेखि नै राष्ट्रिय टिमका खेलाडीलाई रिलिज गरिसकेको छ।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन्।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
प्रतियोगिता सकिएपछि राष्ट्रिय टिमका खेलाडी प्रशिक्षणमा फर्कने सहायक प्रशिक्षक श्रेष्ठले बताए।
नेपालले विगत तीन महिनादेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको छ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ। समूह ‘बी’ का बाँकी खेल कुवेत हुने भएको हुँदैछ। खेल आगामी मे ३१ देखि जुन १५ को बीचमा हुनेछ।
कोरोना भाइरसका कारण गत वर्षदेखि हुन नसकेको छनोटका खेलहरू अब एक समूहका खेल एक भेन्यूमा मात्र हुने भएको हो।
छनोटमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।
समूह ‘बी’ मा नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ।
नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |