एक दर्जन व्यक्तिहरूको आक्रमणबाट गम्भीर घाइते भएका मोरङको पथरी शनिश्चरे नगरपालिका–८ गुराँस चोकमा एक पुरुषको मङ्गलबार दिउँसो मृत्यु भएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवा समूहको सामूहिक आक्रमणबाट स्थानीय ४९ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार तामाङमाथि चैत ८ गते बिहान राति १ बजेतिर बाँसको भाटालगायतले आक्रमण गरिएको थियो ।
सामूहिक आक्रमणको घटनामा परेर गम्भीर घाइते उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
उपचार ठीक भएको भन्दै अस्पतालले दुई दिनअघि अर्थात आइतबार उनलाई डिस्चार्ज दिएर घर पठाएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिएर गए पनि थप उपचारका लागि लैजान नपाउँदै तामाङको आफ्नै घरमा मङ्गलबार दिउँसो ज्यान गएको डिएसपी राईले बताए ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार रहेका ६ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती रहेका छन् ।
फरार हुनेमा सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू रहेको डिएसपी राईले बताए ।
तामाङमाथि कस्तो खालको विवादका कारण आक्रमण भएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ ।
आक्रमणमा संलग्नविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।
तर अहिले कुटपिट गरिएका व्यक्तिको मृत्यु नै भइसकेका कारण घटनामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन आवश्यक प्रक्रिया थालिसकेको जानकारी डिएसपी राईले दिए ।