१७ चैत, काठमाडौं। काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पुरानो कृति मासेर पशुपतिनाथ मन्दिरभित्र व्यक्तिगत रूपमा चाँदीको घ्याम्पो राखेको छ ।
प्राचीन स्मारक संरक्षण र गुठी ऐनविपरीत व्यापारी मीनबहादुर गुरुङको नाममा चाँदीको घ्याम्पो राखिएको हो । यसअघि यहाँ तामाको घ्याम्पो थियो । उक्त घ्याम्पो कसको हो भन्ने अभिलेखसमेत कोषसँग छैन ।
‘प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा क्षेत्रमा नभएको कुरा नराख भन्छ,’ कोषका पूर्वकोषाध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘तर कोषले नभएको कुरा राखेको मात्र होइन, अर्काको कृति मासेको छ । अर्कोको कृति मास्नु गैरकानुनी हो ।’ गुरुङले ३ हजार ९०९ तोला चाँदीको घ्याम्पो राखेका हुन् । उनले आफ्नो नामसमेत लेखेका छन् । नाम राख्न पनि ऐनले निषेध गरेको छ ।
यहीँको पानी चाँदीको करुवाले झिकेर पशुपतिनाथलाई अभिषेक गर्ने चलन छ । घ्याम्पोमा बिहानै ब्राह्मणले पानी बोकेर भर्ने गर्छन् । पानी बोक्न २१ जना ब्राह्मणको व्यवस्था गरिएको हुन्छ । वाग्मतीबाट पानी बोकेर भर्ने चलन भए पनि प्रदूषित भएपछि राजराजेश्वरी घाटछेउमै खनिएको इनारबाट ल्याउने गरिएको छ ।