१६ चैत्र, काठमाडौं। आफ्नो मातृभूमि छाडेर जनजीविकाका लागि अन्य देशहरुमा कर्म गर्न गए पनि हिन्दु धर्मावलम्बीहरुले आफ्नो चाड पर्वहरु धुमधामसँग मनाउने गर्दे आएका छन् । विशेषतः अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु यस मामिलामा अझ अगाडि देखिन्छन् ।

दशैं होस या तिहार, होली होस या तीज, चाडबाड मनाउने, सँस्कृतिको जगेर्ना र प्रवर्धन गर्ने कुरामा नेपालीहरु अरुभन्दा अगाडि नै छन् । यसैको उदाहरण बनेको छ, यही वर्ष अष्ट्रेलियाभरीका नेपाली समुदायले मनाएको होलीको खुशीयाली साटासाट कार्यक्रम ।
गत वर्ष कोरोना महामारीका कारण सामूहिक भेलामा प्रतिबन्ध लगाइएपछि साथीभाइहरुसँग खुलेर होली मनाउन नपाएका अष्ट्रेलियाका नेपालीहरु यस वर्ष भने धुमधाम र हर्षोल्लासका साथ हिन्दुहरुको महान चाड होली मनाएका छन् ।
होलीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आफ्नो मातृभूमिसँगको सास्कृतिक सम्बन्ध मजबुत बनाउन अष्ट्रेलियाका विभिन्न सहरहरुमा बसोबास गर्दै आएका नेपालीहरुले सद्भावका साथ यो वर्ष होली मनाए ।
नेपाली युवायुवतीहरु तथा बालबालिकाहरु सेतो रंगको टिसर्ट लगाएर अनुहारमा रातो, निलो, पहेँलोलगायतका रंग एक अर्कालाई लगाइदिएर होली पर्वको खुशीयाली साटासाट गरेको फोटोहरु सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती देख्न पाइयो ।
होलि पर्व रंग छर्किने र मनोरञ्जनका लागि मात्र मनाइने चाड नभइ मातृभूमिबाट टाढा रहेर पनि जन्मभूमिसँगको साँस्कृतिक सम्बन्ध कायम राख्ने एउटा गतिलो माध्यम पनि हो भन्ने सन्देश अष्ट्रेलियाका नेपालीहरुले दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |