कोरोना संक्रमणको दोस्रो चरणको प्रकोप ह्वात्तै बढेपछि प्रशासनले भिडभाड गरेर फागु पर्व नमनाउन अनुरोध गरेपनि काठमाडौँका उपत्यकामा भने त्यसको खासै प्रभाव देखिएन । उपत्यकाका बसन्तपुर, ठमेल, नक्साल लगायतका स्थानहरुमा फागुमा रमाउनेको संख्या उल्लेख्य देखियो ।
आपसी मेलमिलाप र सद्भावको पर्व फागु देशका हिमाली तथा पहाडी जिल्लाहरुमा उत्साहपूर्वक मनाइयो । कोरोना संक्रमणको दोस्रो चरणको प्रकोप फैलिएसँगै सरकारले भिडभाड गरेर विभिन्न सभा समारोह गर्न र घरबाहिर फागु खेल्न निषेध गरेपनि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा भीडभाड गरेर फागु मनाइयो । बसन्तपुरमा फागुमा रमाउनेहरुको निकै ठूलो भिड थियो । अघिल्लो पटक कोरोनाकै कारण सुनसन बनेको ठमेलमा यसपटक केही चहलपहल देखियो । ठमेलमा विभिन्न देशका पर्यटक रमाइरहेका थिए । एकआपसमा रङ लगाएर मनाइने फागु पर्व निकै रमाइलो लागेको उनीहरुले बताए ।
काठमाडौँकै बांगेमुढामा भने नाँचगान गरेर फागु मनाइयो । कोरोनाको प्रकोम कायमै रहेपनि उनीहरुमा त्यसको खासै प्रभाव परेको देखिएन । नक्सालको नारायणचौरमा भेटिएका युवायुवतीले भने कोरोनाकै त्रासका बीच पनि संस्कृति बचाउनकै लागी सुरक्षित तरिकाले फागु खेलेको बताए ।
फागुमा अवाञ्छित गतिविधि हुन नदिन र कोरोना सतर्कता अपनाउन ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको थियो । सवारी चेकजाँचका लागी अन्य दिनभन्दा करिब ८ सय बढि प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।