१३ चैत, काठमाडौं। गत चैतदेखि भएको लकडाउनले शिथिल बनेको देशको अर्थतन्त्र विस्तारै बौरन थालेपनि कोरोनाको दोस्रो लहरको त्रासले फेरी झस्काएको छ । विस्तारै लयमा फर्कन थालेको अर्थतन्त्रमा कतै लकडाउनको डण्डा वर्षने त होइन भन्ने चिन्ता थपिएको छ । पहिलो चरणको कोरोना र त्यसपछिको लकडाउनले अझै पनि कतिपय उद्योगधन्दाहरू ब्यूँझन सकेका छैनन् भने पर्यटन उद्योगले त झनै गति लिन सकेको छैन ।
कोरोनाकै कारण इतिहासमै कमजोर आर्थिक बृद्धिदर भोगेको नेपालको लागि दोस्रो चरणको कोरोना र त्यसले निम्त्याउन सक्ने लकडाउन झनै घातक हुने देखिएको विज्ञहरुले बताएका छन् । अर्थविद् प्रा. डा. डिल्लीराज खनालले अर्थतन्त्रले अहिले लय समात्न लागेको र आर्थिक गतिविधिले विस्तारै पिकअप लिन लागेको बेला लकडाउन हुने स्थिति बन्यो भने मानिसको जीवनयापनमा थप जोखिम बढ्ने खतरा उनले औँल्याएका छन् । हिजोको लकडाउनबाट पाठ सिकेर सरकार अघि बढ्नुपर्ने उनको तर्क छ । अब कदम चल्दा जनताको जीवन र अर्थतन्त्रमा पर्ने असरलाई मूल्याङ्कन गरेर जानुपर्ने उनको भनाइ छ ।
यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बिहीबार कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका छन् । तर परिस्थिति काबुभन्दा बाहिर गयो भने फेरि पनि लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले संकेत गरिसकेको छ ।
अर्थविद् डा. शंकर शर्मा सरकारले लकडाउन गरेर समस्या समाधान नहुने विगतको अनुभवबाट देखिएकोले सोही अनुसारको रणनीति बनाउनु पर्ने बताउँछन् । अझै पनि व्यावसायिक क्षेत्र, उद्योगमा समस्या रहेको र आर्थिक वृद्धि नभएकाले अर्को लकडाउनले झनै विकराल समस्या निम्त्याउन सक्ने तर्फ सचेत रहन उनले सुझाव दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |