कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताएकी छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले कृषि उत्पादनमा वृद्धि भएको बताएकी हुन् ।
परम्परागत कृषि प्रणाली परिवर्तन हुँदै व्यावसायिकतातर्फ उन्मुख भएको उनले बताइन् । निकट भविष्यमा दूध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गरिने बताइन् । आगामी पाँच वर्षमा कृषि र पशुपंक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षीय योजना बनाउने पनि उनको भनाइ थियो ।
‘हामीले अबको पाँच वर्षमा कृषि र पशुपंक्षी क्षेत्रका सबै क्षेत्रमा हामी आत्मनिर्भर बन्ने मात्रै होइन ठूलो सङ्ख्यामा निर्यात गर्नेगरी, हाम्रो उत्पादनलाई बढाउने गरी पञ्चवर्षीय योजना बनाउँदै छाँै,’ उनले भनिन् ।
मन्त्री अर्यालले आगामी आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई कृषिमा आकर्षित गर्ने उद्देश्यका साथ विद्यालयहरूमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |