एजेन्सी।सिड्नी~न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । शुक्रबारयता यहाँका नदीहरुमा वर्षाले पानी भरिँदा आसपासका बस्ती प्रभावित भएका हुन् ।
केही दिनदेखिको लगातार वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न भएका छन् । राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् ।यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।
अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्दार कार्यले कही पनि मानवीय क्षति भएको छैन ।
सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिवार पानीको मात्रा बढी भएर बाध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको थियो ।
यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो । न्यु साउथ वेल्समा अझै केही दिन भारी पर्षा हुने पूर्वानुमान यहाको जलवायु विभागले गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |