नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले काठमाडौँमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी तीन महिनाको कार्यभार बनाउने भएको छ ।ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।
मङ्गलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठकले प्राप्त सुझावका आधारमा आगामी तीन महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गङ्गालाल तुलाधरले जानकारी दिए । मुलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्धका अन्तरसङ्घर्षलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापले पार्टी एकता भाँडिने सङ्केत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरी उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।
उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफूहरुले लिएको बताए । उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाही कुनै पनि हालतमा सर्वस्वीकार्य छैन र विरोधयोग्य छ भन्ने सन्देश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दावी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेताकार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |