३ चैत, काठमाडौं । सरकारले काठमाडौंको मुख्य सडकमार्ग चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि टोली पठाउन चीन सरकारलाई आग्रह गरेको छ । पूर्वतयारीको काम लगभग सकिएको र मुआब्जाको वितरणको प्रक्रिया पनि सुरु भएकाले काम सुरु गर्न सकिने भन्दै अर्थ मन्त्रालयले चीन सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको हो ।
अर्थ मन्त्रालयले अनुदानमा बन्ने सो सडक खण्डको काम अघि बढाउन चीनलाई आग्रह गरेको हो । ११.६ किलोमिटरको यो खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गरिदिने योजना छ ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा छिट्टै चीनको टोली निर्माण सुरु गर्ने गरी नेपाल आउने अपेक्षा गरिएको बताउँछन् । जग्गाको मुआब्जा वितरण गर्ने गरी सूचना प्रकाशित भइसकेकाले अब चिनियाँ पक्षले काम थालेमा विना अवरोध काम हुनसक्ने बताए ।
चक्रपथको यो खण्डमा रुख, पोल हटाउने काम लगभग सकिएको छ । थापाका अनुसार गोगंबुको आकाशे पुल र अन्य अस्थायी संरचनाहरु हटाइसकिएको छ ।
चीनले तयार गरेको यो खण्डको इन्जिनियरिङ डिजाइन अहिलेसम्म सार्वजनिक भने गरिएको छैन । चीनले बनाएको डिजाइन स्वीकृत भएपछि मात्रै चिनियाँ ठेकदार कम्पनीले काम थाल्न सक्छ ।
सहरी सडक भएपनि चक्रपथको कलंकी-कोटेश्वर खण्ड राजमार्गको शैलीमा अव्यवहारिक ढंगले बनाएको भन्दै सर्वत्र आलोचना भएको थियो । दोस्रो खण्डमा त्यस्तो त्रुटि नदोहोराउने विभागले बताउँदै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |