एजेन्सी — अफ्रिकी देश इक्वेटोरियल गिनीको सैन्य शिविरमा भएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । सोमबार भएको विस्फोटमा कम्तीमा ६ सय १५ जना घाइते भएका बीबीसीले जनाएको छ ।
अधिकारीहरूले देशको मुख्य सहर बाटामा कृषकहरूले बाली भित्र्याएपछिका ठुटा जलाएका र सैन्य शिविरमा विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण घटना भएको जनाएका छन् ।
इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरो ओबिआङ निङ्ग्यामाले विस्फोटका कारण सबैजसो भवन र घरहरू ध्वस्त भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरूमा विस्फोटक पदार्थ विस्फोट भएसँगै धूवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।
विस्फोटपछि त्रसित मानिसहरू धूवाँको मुस्लोमाझ सुरक्षित स्थलतर्फ कुदेका टेलिभिजनका दृश्यहरूमा देखिन्छ । भग्नावशेषमा कैयौं मानिसहरू फसेका कारण मृतकहरूको संख्या बढ्न सक्ने जनाइएको छ । अधिकारीहरूका अनुसार उद्धार प्रयास भइरहेको जनाएका छन् ।
स्पेनी दूतावासले सोमबार नै आफ्ना नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो । इक्वेटोरियल गिनी स्पेनी भाषा बोलिने एक मात्र अफ्रिकी देश हो । यो देश सन् १९६८ सम्म स्पेनको उपनिवेश रहेको थियो । तेल र ग्यासमा निकै धनी भए पनि इक्वेटोरियल गिनीका करिब ७६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |