किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक वृद्ध महिला र एक जना वृद्ध पुरुष छन् । दुवै जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् ।
गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति सेनिटाइजर एकै पटकमा पिएकी थिइन् ।
पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि शनिबार राति कोसी अस्पताल ल्याइएको थियो । सुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो ।
तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसियूमा राखिएको र उपचारकै क्रममा उनको सोमबार बिहान ८ बजेतिर ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बनेर गएकी वृद्धा महिलाको आकस्मिक कक्षमै बिहान १ बजेतिर मृत्यु भएको हो ।
सेनिटाइजर सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने बताउँदै चिकित्सकहरुले सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् । कोरोना महामारी सुरु भएपछि सेनिटाइजरको प्रयोग बढेको छ । सेनिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जानकारी दिएको एसपी सन्तोष खड्काले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |