१६ फागुन, पोखरा।
प्रधानाध्यापकको घरमा दुई वर्षदेखि राखिएका ७ जना बिध्यार्थीहरुको उद्धार गरिएको छ। घरपायक जागिर र पद जोगाउन कास्कीको मादी गाउँपालिका–६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यापकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ । विद्यालयबाट उम्किन खोजेका विद्यार्थीलाई प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले कुटपिट गरेर सख्त घाइते बनाएपछि घटना सार्वजनिक भएको हो ।
मादी नदी किनारमा बाटो खनिरहेका मजदुरले शुक्रबार प्रधानाध्यापक मगरले विद्यार्थीलाई कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए । प्रहरीसहितको टोलीले घटनाबारे बुझ्दा मगरले विद्यार्थीलाई दयनीय अवस्थामा बन्धक बनाएको पाइएको हो । स्थानीय विद्यार्थी नभएपछि उनले विभिन्न जिल्लाबाट विद्यार्थी ल्याएर आफ्नै घरमा राखेको पाइएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । उनका अनुसार मगरले लमजुङ, तनहुँलगायत जिल्लाबाट ४ देखि १२ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । ‘दिउँसो विद्यालयमा हाजिरी गराउने र बिहान–बेलुका घरको काममा लगाउने गर्दा रहेछन्,’ अध्यक्ष गुरुङले भने, ‘बच्चाहरूलाई मल बोकाउने, बारी खन्ने काममा पनि लगाएको पायौं । खान, लाउन पनि राम्रो नदिइएको रहेछ ।’
शुक्रबार विद्यालयबाट भाग्दै गरेका कक्षा २ मा पढ्ने लमजुङका दीपेश राईलाई प्रधानाध्यापक मगरले ढुंगा प्रहार गर्दा निधारमा चोट लागेको छ । उनको गालामा औंलाको डाम र ढाडमा नीलडाम छ । भाग्ने क्रममा कुकुरले टोक्दा एक छात्रा घाइते भएकी छन् । वडा प्रहरी कार्यालय रामबजार र सिल्दुजुरे प्रहरी चौकीबाट खटिएको टोलीले मगरलाई शनिबार पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए । ४ छात्र र ३ छात्रालाई गाउँपालिका, प्रहरी र गैरसरकारी संस्थाले उद्धार गरी पोखरा ल्याएका छन् । घाइते विद्यार्थीलाई एक संस्थाको संरक्षणमा राखिएको छ । कोपिला नेपालकी बिना सिलवालले बालबालिकाको ठेगानासमेत स्पष्ट नखुलेको बताइन् । ‘अहिले उनीहरू एकदमै आतंकित छन्,’ उनले भनिन्, ‘आफ्नो ठेगानासमेत स्पष्ट भन्न सक्ने अवस्थामा छैनन् ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |