राम्रो कमाई हुने काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर मोरङको उर्लाबारीकी एक बालिकामाथि बारम्बार बलात्कार गरिएको घटना बाहिर आएको छ ।
सुनसरीको इटहरीमा कोठा भाडामा लिएर बन्धक बनाउँदै एक व्यक्तिले हप्ता दिनदेखि १५ वर्षीया बालिकामाथि निरन्तर बलात्कार गरिरहेको घटना सार्वजनिक भएको हो । कामको प्रलोभन देखाउँदै बालिकालाई बन्धक बनाएर बलात्कार गरिएको घटनामा संलग्न ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन् । कार्की सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएको खुलेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि शुक्रबारसाँझ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ । पीडित बालिकाको उद्धार गर्दै बलात्कारमा संलग्नलाई पक्राउ गरेर कारबाहीका लागि इटहरीको जिम्मा लगाइएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिए ।
उनका अनुसार उद्धार गरेका समयमा बालिका मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा थिइन् । तनावबाट मुक्त बनाएर उनलाई सामान्य अवस्थामा फर्काउन ‘काउन्सिलिङ’को आवश्यक देखिएको ढकालले बताए । प्रहरीले उद्धार गर्दा डराएकी र डाँको छाडेर रोइरहेकी बालिका निक्कै पीडामा थिइन् । आफूमाथि भएको बलात्कारलाई बताउनसक्ने अवस्थामा नरहेकी उनलाई बेलबारीमा कार्यरत महिला प्रहरीले सम्झाईबुझाई गर्दै ‘काउन्सिलिङ’ गरेका थिए ।
त्यसपछि डराउन र तर्सिन छाडेकी बालिकाले आफूमाथिको बलात्कार फटाफट बताउन थालिन् । ढकालका अनुसार राम्रो पैसा कमाई हुने प्रलोभन देखाएर काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले विभिन्न धम्की तथा चरम यातना दिएर बालिकामाथि बलात्कार गरिरहेको खुलेको छ । बलात्कृत बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले प्रतिकार गर्दा र नमान्दा चरम हिसाबले मानसिक र शारीरिक यातना दिँदै, धम्क्याउँदै तथा कुटपिट गर्दै बालिकामाथि बलात्कार गरिरहेको पाइएको बताए । पीडित बालिकालाई आवश्यक संरक्षण र ‘काउन्सिलिङ’का लागि प्रहरीले माया घरको जिम्मा लगाएको छ । बलात्कारका क्रममा कुटपिट गरिएको निलडाम र चोट बालिकाको शरीरमा प्रष्टसँग देख्न सकिन्छ । बालिकाको उपचार पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |