१३ फागुन, काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान ११ः४५ मा पशुपतिनाथमा शिवलिंगमा सुनको जलहरी राख्न गरिएको क्षमापूजामा सहभागी भइन् । त्यति नै बेला सर्वोच्च अदालतमा जलहरी राख्ने निर्णय रोक्न प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले अलग–अलग दिएको सार्वजनिक सरोकारको रिटमा बहसको तयारी हुँदै थियो ।
बहस हुनुअगाडि नै हल्ला आयो– राति २ बजेदेखि नै काम थालेर जलहरी राखिसकियो । रिट निवेदक र बहस गर्न जम्मा भएका वकिल अलमलिए । वैद्यले भने, ‘एक दिनमात्रै ढिला गरिएछ निवेदन दिन ।’
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासमा वरिष्ठ अधिवक्ता राजन ढुंगाना, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ताहरू विजय सिंह, रुद्र शर्मा, अनिलकुमार लाल, प्रजेश ढुंगाना र निकिता ढुंगानाले जलहरी रोक्न अन्तरिम आदेश माग गर्दै बहस गरे । इजलासले छलफलको टुंगो नलागेसम्म मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भन्दै अन्तरकालीन आदेश जारी गर्यो । त्यतिञ्जेलमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले सुनको जलहरी राखिसकियो भनेर बोलेको भिडियो सार्वजनिक भइसकेको थियो ।
तर स्रोतले भने बुधबार क्षमापूजा भए पनि सुनको जलहरी नराखिएको दाबी गरेको छ । पहिला राखिएको जलहरी पाँच दिनअघि उप्काइएको र त्यसैलाई मर्मत गरेर बुधबार फेरि राखिएको स्रोतले जनाएको छ । ‘ज्योतिर्लिंगमा रहेको जलहरीमा तामाको दुई तह र चाँदीको दुई तह रहेछ, चाँदीको दुई तह रणबहादुर शाहको पालामा र सबैभन्दा भित्रको दुई तहको तामाको चाहिँ मल्लकालतिरै वा त्योभन्दा पनि पहिला राखिएको हो,’ स्रोतले भन्यो, ‘सुनको जलहरीचाहिँ पाँचौं तहमा राख्न लागिएको हो ।’ बुधबार राखिएको भनेर हल्ला गरिएको जलहरी मन्दिरभित्रसमेत नलगिएको स्रोतको दाबी छ । ‘सुनको जलहरी मन्दिरमाथिको रुद्र गाडेश्वरमा गालेर त्यहीं बनाइएको हो,’ उक्त स्रोतले भन्यो, ‘अहिले पनि सेनाको सुरक्षामा त्यहीं रहेछ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |