बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाअन्तर्गत काडिजसँगको खेलमा दुई फरक कीर्तिमान बनाएका छन् ।
आइतबार राति काडिजसँगको खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दा पेनाल्टीमा एक गोल गरेका मेस्सीले दुई फरक रेकर्ड बनाएका हुन् ।
अर्जेन्टिनी स्टार मेस्सीले काडिजविरुद्ध खेलको ३२औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
सो गोलसँगै मेस्सी ला लिगाका ३८ टोलीविरुद्ध गोल गर्ने खेलाडी बने । त्यसबाहेक उनी बार्सिलोनाका लागि सर्वाधिक धेरै ला लिगाका खेल खेल्ने खेलाडी पनि बने ।
यसअघि जाभी हर्नान्डेजको नाममा रहेको कीर्तिमान मेस्सीले आफ्नो नाममा सारे । जाभीले ला लिगा पाँच सय पाँच वटा ला लिगा खेल खेलेका छन् । त्यसक्रममा जाभीले ५८ गोल र एक सय ३८ असिस्ट गरेका छन् ।
यता, मेस्सीले ला लिगामा पाँच सय छ खेल खेलेका छन् । जसक्रममा मेस्सीले चार सय ६० गोल र दुई सय एक असिस्ट गरेका छन् ।
यसैगरी मेस्सी आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान नजिक पुगेका छन् । ला लिगामा सर्वाधिक पेनाल्टीमा गोल गर्ने रोनाल्डोको कीर्तिमानभन्दा मेस्सीले मात्र एक गोलले पछि छन् ।
रोनाल्डोले नौ वर्षे रियल बसाइको क्रममा ला लिगातर्फ पेनाल्टीमा ६१ गोल गरेका थिए । मेस्सीले भने पेनाल्टीमा ६० गोल गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |