प्रदेश १ मा प्रेसर हर्न बजाउन निषेध गरिएको छ । सोमबारबाट पुनः हर्न निषेध अभियान सुरु गरिएको हो ।
अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी सडकमा खटिएको छ । अब प्रेसर हर्न बजाए कारबाही गर्ने ट्राफिक प्रहरीले बताएको छ ।
मोरङको विराट चोक, कर्सिया, उर्लाबारी, पथरी, बेलबारी, गछिया, रङ्गेली, विराटनगरको बसपार्क, ढाट, कञ्चनबारीलगायतका स्थानमा चालकलाई हर्न निषेधका बारेमा जानकारी गराउन सोमबार ट्राफिक प्रहरी खटिएका थिए ।
प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सोमबार सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गर्दै अभियानको सुरुवात गरेका थिए ।चालकलाई हर्न नबजाउन आग्रह गर्दै प्लेकार्डसहित सडकमा ट्राफिक प्रहरी निस्किएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।
चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै उनले नटेर्नेलाई ट्राफिक नियम उल्लङ्घनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिए ।प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले ध्वनि प्रदूषण गराउने क्रम बढेपछि प्रदेशलाई हर्न निषेधित क्षेत्र बनाउन सवारी साधनलाई नियमन गर्न थालिएको जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |