पशुपतिनाथ मन्दिरमा जलहरी राख्न पशुपति क्षेत्र विकास कोषले धार्मिक अनुष्ठान सुरु गरेको छ। कोषले शनिबारदेखि पाँच दिनसम्म धार्मिक अनुष्ठान सुरु गरेको हो।
जलहरी राख्ने प्रक्रिया अन्तर्गत शनिबार क्षमा पूजा गरिएको थियो। शनिबारदेखि पाँच दिनसम्म चल्ने अनुष्ठानमा भारतबाट २५ जना पण्डितलाई बोलाइएको छ भने बाँकी ९६ जना नेपाली पण्डितले अनुष्ठान गरिरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।
अनुष्ठान पाँच दिनसम्म चल्नेछ। अनुष्ठान पूरा भएपछि पशुपतिनाथमा जलहरी फेर्ने कार्य सम्पन्न हुने कोषले जनाएको छ।
हाल पशुपतिनाथ ज्योतिलिंगमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ।
अहिले कालिगढले जलहरी बनाउने काम गरिरहेका छन्। जलहरी बनाइरहेको ठाउँ मन्दिर परिसरमा नेपाली सेनाले सुरक्षा दिएको छ। अबका पाँच दिनमा जलहरी बनाउने काम सम्पन्न हुने कोषले जनाएको छ।
कोषका अनुसार जलहरी र ज्योतिर्लिंगमा पुजारीले मात्रै छुन पाउने विधान छ। पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले पशुपतिनाथ मन्दिरका मुल भट्टको सिफारिसमा दक्षिण भारतबाट २५ जना पण्डितलाई बोलाइएको छ।
माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै विश्व शान्ति एव राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गर्दै सवा लाख दीप प्रज्जवलन गरेका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारले ३० करोड रुपैयाँ निकासा गर्ने जनाएका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |