१० फागुन, काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीमा फेरि गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् ।
चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले बताए ।
किसानहरुलाई आफ्नो कागज पत्रसहित भुक्तानीका लागि आग्रह गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । किसानको भुक्तानी नदिएका कारण पक्राउ परेका दुई जना उद्योगीहरुको अदालती प्रक्रिया जारी रहेको प्रवक्ता लामिछानेले बताए ।
कुल ६५ करोड ३१ लाख बक्यौतामध्ये ५७ करोड ३० लाख रकम माघ पहिलो सातासम्म किसानहरुको खातामा पठाइएको र बाँकी भुक्तानी ८ करोड एक लाख रुपैयाँ पनि किसानले पाउने निश्चित भएको सरकारी दाबी छ ।
किसानहरुको भनाइमा अझै पाँच करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ तर सरकारले बैंकमा भएको भनिएको रकम कति हो र के कारण रोकिएको भन्ने विवरण अझै हामीलाई दिएको छैन,’ संरक्षक मिश्रले भने । डकुमेन्ट मिलेको छैन भन्ने कुरा सरकारले हल्ला मात्रै गरेको तर किसानहरुलाई जानकारी नै नभएको उनको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |