फागुन ९ गते।धनुषा — नगराइन नगरपालिका–६ गंगुलीका ६ वर्षीय चन्दन साहलाई अपहरण गरेको आरोपमा मामा लक्ष्मिनरायण साहलाई प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणमा मामा साहसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले बताए ।
शनिबार दिउँसो घर अगाडिबाट अपहरणमा परेका ६ वर्षीय बालकलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरी टोलीले शनिबार साँझ सकुशल उद्धार गरेको थियो । बालक अपहरणमा आफ्नै मामासहित बुवा रमेश साह समेत शंकाको घेरामा रहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए । बालकका बुवालाई अपहरणको आरोपमा नियन्त्रणमा लिइएको डीआईजी सिंहले बताए ।
उनका अनुसार बालकका बुवाको गतिविधि समेत शंकास्पद पाइएको छ । अपहरणकारीले बालकको परिवारसँग फोन गरी फिरौती माग गरेका थिए । अपहरण बारे थप अनुसन्धान भइरहेको र मुद्दा दर्ता गरी आरोपितलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |