८ फागुन,काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको जानकारी दिए। शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको जानकारी दिएका छन् । फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाई छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको समेत बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मुल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए । उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |