प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले ‘लोकतन्त्रको बाटो’ नबिराउने बताएका छन् । विभिन्न संघर्षमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको आइपुगेको उल्लेख गर्दै ओलीले यो प्रणालीलाई अझ जीवन्त बनाएर अगाडि बढ्नुपर्ने बताए ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा शुक्रबार आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’
लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीँ कतैबाट हुन नहुने बताएका प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको जिकिर गरे ।
ताजा जनादेश उ्रच्चतम लोकतान्त्रिक विधि भएको बताएका प्रधानमन्त्री ओलीले त्यसका लागि जुट्न पनि आग्रह गरे ।
‘यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछुँ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |