नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य चालु आर्थिक वर्ष २०७७/७८ को सबैभन्दा न्यून अंकमा झरेको छ ।
फागुन महिनाको पहिलो हप्ताको अन्तिम कारोबार दिन (फागुन ७ गते, शुक्रबार) तोलामा १ हजार रुपैयाँले घटेर सुनको मूल्य तोलामा ८९ हजारभन्दा पनि तल झरेको हो ।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ८८ हजार २ सय रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला ८९ हजार २ सय रहेको छापावाल सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रुपैयाँले घटेको छ । बिहीबार तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य शुक्रबार ८७ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चालु आर्थिक वषको शुरुवाती महिनामै नेपाली बजारमा सुनको मूल्यले ‘ऐतिहासि’ रेकर्ड राखेको थियो । साउन २३ गते छापावाल सुनको मूल्य नेपाल बजारमा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सो दिन तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चालु आर्थिक वर्षका ७ महिनामा सुनको मूल्य ९० हजार माथि नै थियो । तर, फागुन महिनामा पहिलोपटक सुनको मूल्य ९० हजारको आंकडाभन्दा तल झरेको हो । फागुन ३ गते (बुधबार) तोलामा १ हजार १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा झरेको थियो ।
त्यसपछि बिहीबार सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आयो भने शुक्रबार १ हजार रुपैयाँले ओरालो लाग्यो ।
नेपाली बजारमा सुनको मूल्यले यो वर्षमा पहिलो पटक गत असार ७ हजार ९० हजार रुपैयाँको आंकडा पार गरेको थियो । अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेर गत फागुन ७ गते नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्यमा पनि अन्य दिनको तुलनामा ‘भारी’ गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँ पुगेको थियो भने बुधबार चाँदीको मूल्य तोलाको १ हजार ३ सय ४० रुपैयाँ कायम थियो
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |