काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसा अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनुका साथै प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने सहिदप्रति प्रार्थना र स्मरण गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनसहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो । राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक समारोहसाथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |