सत्तारुढ नेकपाका दुवै समूहले निर्वाचन आयोगबाट आधिकारिकता नपाउने सम्भावना बढेर गएको छ ।
सूर्य चिन्हमासमेत दुवै समूहले दाबी गरिरहेका छन् । सूर्य चिन्ह र नेकपासमेत फ्रिज (निस्कृय) बनाउने तयारी आयोगले थालेको छ । नेकपा र सूर्य चिन्ह फ्रिज हुने सम्भावना बढेपछि दुवै समूह सशंकित बनेका छन् ।
आयोगले फ्रिजको विकल्पलाई लिएर आन्तरिक हिसाबमा छलफल थालिसकेको छ । नेकपाका दुवै समूहले सूर्य चिन्ह पाउनुपर्ने र आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका बेला निर्वाचन आयोगले चिन्ह र नेकपालाई नै फ्रिज गरिदिने हिसाबको छलफल थालेको हो ।
जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई आधिकारिकता नदिने कोणबाट छलफल चलेको स्रोतले बतायो । आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुवै समूह माहोल आफ्नो पक्षमा बनाउन लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि नेकपाको दाहाल–नेपाल समूहले त्यसकाविरुद्ध निरन्तर सडक आन्दोलन गरिरहेको छ ।
झन्डै दुईतिहाई मत पाएर सरकारको नेतृत्व गरिरहेको नेकपा संसद विघटनपछि दुई समूहमा विभाजित बनेको छ । एउटा समूहको नेतृत्व ओली र अर्को समूहको नेतृत्व दाहाल–नेपालले गरिरहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |