स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफू नयाँ पार्टी गठनको तयारीमा रहेको बताएका छन्। सोमबार सेतोपाटीसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो स्वतन्त्र समूहलाई छिट्टै पार्टीमा रूपान्तरण गर्ने बताए।त्रिपाठीले पश्चिम नवलपरासी क्षेत्र नं १ बाट २०७४ मा सूर्य चिन्ह लिएर निर्वाचन जितेका थिए।
सूर्य चिन्हबाट प्रतिनिधित्व गरेको भए पनि उनले आफूलाई स्वतन्त्र समूहमा रहेको भनेर चिनाउने गरेका छन्। ‘हामीले नेकपासँग केही चरण कुराकानी पनि गरेको हो। तर वैचारिक र व्यावहारिक रूपले पनि मुर्त रूप लिन पाएन,’ उनले भने,’हामीले आफ्नो सम्पर्क बढाउँदै गएका छौं। त्यसलाई राजनीतिक दलको रूपमा लैजान्छौं।’
संघीय लोकतान्त्रिक गणतन्त्र, राजकीय सत्ता र सर्वभौमसत्ता जनतामा निहित हुनुपर्ने, संविधानको प्रस्तावनामा लेखिएको सबै प्रकारका विभेदको अन्त्यलगायतमा आफ्नो पार्टीको प्रतिवद्धता रहने त्रिपाठीले बताए। वर्गीय हिसाबले किसानमा आधारित पार्टी हुने साना व्यवयासायीको प्रतिनिधित्व, तिनको हित र विचारको प्रतिनिधित्व हुने समेत उनको भनाइ छ।
नयाँ पार्टी बनाउने परिस्थिति परिपक्व हुँदै गएको समेत उनले बताए।नयाँ पार्टी बनाएर वाम पार्टीसँग तालमेल गर्ने उनको योजना छ।’वाम गठबन्धनसँग निर्वाचनमा हामीले तालमेल गरेको हो। त्यसैले पहिलो प्राथमिकता वामहरूसँग सहकार्य गर्ने रहन्छ। तर दल भएपछि आफ्नो सार्वभौम निर्णय हुन्छ। दल गठन भएपछि मात्रै कोसँग सहकार्य गर्ने भन्ने टुंगो लाग्छ,’ उनले भने,’पहिला त विचार मिल्नुपर्यो, विचार मिलेको भए त हामी गइहाल्थ्यौं नि। हाम्रो सक्रियतालाई नेतृत्व दिन सक्ने कोही भेटिएको छैन। मलाई वैचारिक, राजनीतिक र नैतिक रूपले थाम्न सक्ने कोही छैन।’
प्रतिनिधि सभा विघटनको अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले नेकपाभित्रको आन्तरिक किचलोको कारणले यो अवस्था आएको बताए।’यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पार्टीभित्रकै किचलोका कारण प्रतिनिधि सभा विघटन गरेका थिए। राजनीतिक पार्टीको बनावट प्रजातान्त्रिक प्रक्रिया स्वीकार्ने खालको छैन,’ उनले भने,’अहिले जे जसरी भएको भए पनि कहीँ न कहीँ हामी स्थिरताबाट विचलित भएर ‘डिरेल’ भएका छौं। हाम्रो स्थिरता खलबलिएको छ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |