नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अदालतमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम संरक्षणमा पूर्व-राजाबाट दीक्षित भएकाहरू लागेको बताएका छन् । बिहीबार काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा उनले पूर्व-राजा ज्ञानेन्द्र शाहबाट दीक्षित भएकाहरू ओलीको असंवैधानिक कदमको रक्षाका लागि उभिएको बताएका हुन् । उनले अदालतले संविधानभन्दा बाहिर रहेर ब्याख्या गर्न नमिल्ने बताए ।
‘सासक निरङकुस हुन सक्छ,’उनले भने, ‘यस्तै शासक आउँछन् भनेर अदालतलाई स्वतन्त्र बनाउन चाहेको हो’
उनले स्वतन्त्र अदालतले संविधानको धारा मात्रै ब्याख्या गर्ने अधिकार रहेको बताए । ‘अदालतले संविधानको व्याख्या गर्छ भन्ने हाम्रो बुझाइ हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने अधिकार अदालतलाई छैन ।’
नेता पौडेलले ओली नेतृत्त्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको बताए । ‘जनताले कम्युनिष्टलाई विश्वास गरेर सत्तामा पुर्याएका हुन् । बरु यो अवसर नेपाली काङ्ग्रेसले पाएको थिएन । तर, जनताको आकंक्षाअनुरुप कम्युनिष्ट सरकारले काम गर्न सकेन । विगत तीन वर्षमा सबैभन्दा धेरै भ्रष्टाचार भएको छ । यो तथ्याङ्कले नै देखाइरहेको छ,’ उनले भने ।
यसैगरी नेता पौडेलले ओलीले आगामी बैशाखमा तय भएको निर्वाचन नगराउने दाबी गरे । ‘ओलीले आफूले हार्ने चुनाव गराउँदैनन् । आगामी बैशाखमा तय भएको चुनाव ओलीले गराउँदैनन्,’ उनले थपे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |