नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको निर्णय सदर भए नेपाल निक्कै ठूलो राजनीतिक भुमरीमा पर्ने बताएका छन्।
मंगलबार नेपालमा बसेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमममा कार्यरत पत्रकारसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले वैशाखमा चुनाव हुन नसक्ने कुल पुष्टि भइसकेकोसमेत बताए ।
‘अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो,’ प्रचण्डले भने, ‘अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ । निर्वाचन आयोगको काम पनि देख्नु भएको छ । त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो भने नेपाल निक्कै ठूलो राजनीतिक भुमरीमा पर्छ ।’
अध्यक्ष प्रचण्डले ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्ने बारेमा प्रश्न उठेको समेत बताए। उनले आफ्नो निर्वाचन क्षेत्रमा गएर ओलीले राम मन्दिर र अयोध्याबारे प्रचण्ड बोलेनन भनेर टिप्पणी गरेकोप्रति आपत्ति जनाए ।
‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ’ प्रचण्डले ओलीमाथि प्रश्न गर्दै भने, ‘मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ । मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ। यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दू महासंघको अध्यक्ष हो ?’
‘प्रचण्डले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव असंवैधानिक र अलोकतान्त्रिक हुने बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएकोसमेत आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरेका छन्।
‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई अदालतले सदर गर्छ भन्ने लागेको छैन’, प्रचण्डले भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’
ओली समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए।अध्यक्ष प्रचण्डले अहिले चलेको लडाइँ पदको निम्ति नभई न्याय र अन्यायको निम्ति भएको स्पष्ट पारे । उनले ओलीलाई सत्ताको मात लागेको तानाशाहको संज्ञासमेत दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |