जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् । सुनसरीको इनरुवामा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले लोकतन्त्र रक्षा र अधिकार पहिचानका लागि वैकल्पिक शक्तिको रूपमा जनता समाजवादी पार्टीलाई स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।
जनताले वैकल्पिक शक्तिको खोजीमा रहेकाले आफूहरूले जनता समाजवादी पार्टीलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्ने उनले बताएका छन् । जसपाले शक्ति निर्माणको प्रक्रियालाई सुरु गरेको बताउँदै वरिष्ठ नेता महतोले तराई, पहाड, हिमालका जनताले अधिकार पहिचानका लागि राष्ट्रिय मुक्तिको आन्दोलन गर्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टी छाडेर यता सबै पार्टीहरू मिलेर राष्ट्रिय मुक्तिको आन्दोलन गर्न आवश्यक रहेको उनले बताए । आन्दोलनको तयारी गर्नुपर्ने नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने जिकिरसमेत उनले गरे ।
जनता समाजवादी पार्टीको एजेण्डामाथि जसले समर्थन गर्छ उतै जाने सङ्केत गर्दै वरिष्ठ नेता महतोले संविधान संशोधन भएमात्र मधेशी जनताको अधिकार पहिचान स्थापित हुने बताए । अहिले परिस्थितिमा जनता समाजवादी पार्टीले उठाएको एजेण्डामाथि काङ्ग्रेस वा कम्युनिष्टले समर्थन गर्यो भने संयुक्त आन्दोलनबाट अगाडि बढ्ने बताए ।
‘प्रतिगमनविरुद्ध सङ्घर्ष गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘अधिकार पहिचान, सुशासन, समृद्धिका लागि आफू राष्ट्रिय मुक्ति आन्दोलनबाट देशको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्नुपर्छ ।’
जनता समाजवादी पार्टीले दुई वटा जिम्मेवारीलाई पूरा गर्ने दायित्व भएको उनले बताए । लोकतन्त्रको रक्षा गर्ने र अधिकार, पहिचान, सुशासन, समृद्धिको एजेण्डालाई पूरा गर्ने ठूलो जिम्मेवारी जसपाको काँधमा रहेकोसमेत उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |