सरकारले नेपाली सेनामा स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण पाउने अवधि घटाएको छ ।
सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पेन्सन अवधि लामो हुँदा राजीनामा दिने लहर बढेपछि सैनिक सेवा नियमावली संशोधन गरेर पेन्सन पाक्ने अवधि घटाइएको हो । अब पेन्सन अवधि दर्जाअनुसार १६ देखि २० वर्ष हुनेछ । यसअघि २० वर्ष मात्र थियो
संशोधित नियमावलीमा पेन्सन अवधि दर्जागत रूपमा १६ देखि २० वर्षसम्म कायम गरिए पनि तोकिएको अवधि पूरा गरेर बीचमै स्वैच्छिक अवकाश लिए पनि पेन्सन भने २० वर्षपछि मात्र पाइनेछ ।
संशोधित नियमावलीअनुसार सेनाका फलोअर्स (कार्यालय सहयोगी) र सिपाहीले १६ वर्ष, प्यूठदेखि अमल्दारसम्मले १७ वर्ष, हुद्दा र जमदारले १८ वर्ष तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वैच्छिक अवकाश लिन चाहे पेन्सन पाउनेछन् । ‘नयाँ प्रावधानअनुसार २० वर्ष समय अवधि पुगेपछि पेन्सन आए पनि रकम भने १६ वर्ष काम गरेकै आधारमा सैनिकहरूले पाउनेछन्,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।
सैनिक अधिकृतहरूले भने पहिलेकै प्रावधानअनुसार स्वैच्छिक अवकाश लिएर पेन्सन पाउन २० वर्ष नै कुर्नुपर्नेछ । मन्त्रिपरिषद्ले पुस २९ गते सैनिक सेवा (तेस्रो संशोधन) नियमावली–२०७७ स्वीकृत गरेको हो ।
सहायक सेनानी र सोभन्दा माथिका अधिकृतले अवकाश पाउन २० वर्षको सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |