सबैको सपना हुन्छ, राजधानी काठमाडौंमा घर बनाउने । तर, काठमाडौं उपत्यकाभित्र कति तलाको घर बनाउन कति लगानी लाग्छ ? त्यसबारे भने प्रायः सबै बेखबर हुने गरेका छन् । घरको अनुमानित लागतबारे सम्बन्धित क्षेत्रका इन्जिनियरसँग जानकारी लिँदा राम्रो हुन्छ । लगानीको आंकलन गरेरै आफ्नो आर्थिक क्षमताले भ्याउने घर निर्माण गर्नु उक्तम हुन्छ ।
के तपाईं काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? निर्माण सुरु गर्नुअघि तपाईंले अनुमानित बजेट जोहो गर्नु आवश्यक हुन्छ । आफूसँग कति रकम छ, अपुग रकम बैंकबाट ऋण लिने हो कि आफन्तसँग सरसापट माग्ने हो, त्यो निक्र्योल गर्नैपर्छ ।
हामीले तपाईंहरूलाई काठमाडौं उपत्यकामा मध्यम खालको एक तला घर निर्माणका लागि कति रकम खर्च हुन्छ भनेर जानकारी गराउँदै छौं ।
चार आना क्षेत्रफलको घडेरीमा करिब १ हजार स्क्वायर फिटमा फैलिएको एक तलाको चारकोठे घर बनाउन कति लगानी लाग्छ ? स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल भन्छन्, ‘मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँछ । यो भनेको करिब ३२ लाख रुपैयाँमा एक तले घर तयार हुने भयो ।’
घरलाई जति भव्य बनाउन खोज्यो, लागत पनि उति नै बढ्दै जान्छ । मध्यमभन्दा अलि माथिल्लो स्तरको घर बनाउन प्रतिस्क्वायर फिट लागत ४ हजार रुपैयाँ पर्छ । अझ राम्रो बंगला बनाउँदा ४५ सय प्रतिस्क्वायर फिट लगानी पर्न आउँछ ।
तीन आना (करिब १ हजार स्क्वायर फिट) जग्गामा प्रतिस्क्वायर फिट ४ हजारको दरले एक तला घर ठड्याउन ४०/४२ लाख रुपैयाँ लगानी गर्नुपर्छ । यदि बंगालो किसिमको अलि लक्जरी घर बनाउन खोजे प्रतिस्क्वायर फिट ४५ सयका दरले एक तलाको ४५ लाख रुपैयाँ लगानी लाग्ने भयो ।
कस्तो घर बनाउने ? यो तपाईंकै छनोट हो । तपाईंले आफ्नो आयस्रोत हेरेर कस्तो घर बनाउने निर्णय गर्न सक्नुहुन्छ ।
सामान्यतयाः ४ आना जग्गामा घर ठड्याउने भनेको करिब एक हजार स्क्वायर फिट क्षेत्रफलको हो । फुयालका अनुसार यो क्षेत्रफलमा ११ फिट बाई १३ फिटका तीन वटा कोठा, १३ फिट बाई १५ फिटको लिभिङ रुम र ७ फिट बाई ५ फिटको एउटा बाथरुम तयार हुन्छ ।
डेभलपर कम्पनीले ३२ लाख रुपैयाँमा एक तलाको घर बनाएर घरधनीलाई चाँबी बुझाउन सक्छन् । यदि आफैले घर बनाउन कस्सिए एक/दुई लाख रुपैयाँ कम पनि पर्न सक्छ । डेभपलपरले आफ्नो खर्च पनि जोडेकै हुन्छ ।