नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्नसक्ने चेतावनी दिएका छन् ।
शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले संसद् बैठक बसेर ओलीलाई कारवाही गर्नसक्ने चेतावनी दिएका हुन् ।
‘केपी ओलीलाई संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन तर हामीलाई संविधानले संसद् बैठक बस्ने अधिकार दिएको छ’, उनले भने, ‘जरुरी पर्यो भने हामी संसद् बैठक बसेर ओलीलाई कारवाही गर्नसक्छौँ ।’ तर अहिले नै त्यो बेला आइनसकेको प्रचण्डको भनाइ छ ।
‘यो संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा छ । मलाई भरोसा छ कि सर्वोच्चले यो देशका जनताको भावनाअनुसार निर्णय गर्नेछ । यसैले संसद्को बैठक अहिले नै बसिएको छैन । तर आवश्यक परेको खण्डमा त्यताति पनि लाग्नेछाैँ,’ उनले भने ।