नेपाल सरकारका उप–प्रधानमन्त्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमन्त्री पोखरेलले प्रचण्ड सर्वेसर्वा बन्न खोज्दा पछिल्लो घटनाक्रम सिर्जना हुन पुगेको बताउनु भएको छ ।
पोखरेलले प्रचण्डका कारण मुलुकमा निम्तन सक्ने दुर्घटना जोगाउन प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको बताउनु भएको हो ।
सुनसरीको दुहवीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधान मन्त्री पोखरेलले प्रचण्डकै कारण मुलुकले सोचे अनुरुपको प्रगति हात पार्न नसकेको समेत बताउनु भयो ।
एकातिर सहमति गरी अर्को तिर कुद्ने प्रचण्डको स्वभावलाई पोखरेलले ढुलमुले प्रवृतिको संज्ञा समेत दिनुभएको छ ।
पोखरेलले प्रचण्ड उपर पार्टी भित्र संगसंगै अघि बढ्ने अनुरुप गरिएका सहमतिको विपक्षमा गई स्वार्थ लिप्तमा लागेको आरोप समेत लगाउनु भयो । सम्बोधनको क्रममा उप प्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव पक्ष ताजा जनादेशमा जान डराएको बताउनु भयो ।
सो कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले समेत सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा मुख्यमन्त्री राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताउनु भएको छ । राईले भीम आचार्यको कुनै पनि तिकडमले काम नगर्ने भन्दै आफू विरुद्धको अविश्वास प्रस्ताव पास हुनै नसक्ने दावी गर्नुभयो ।सुनसरीको दुहवी रंगशालामा आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता भेलामा प्रचण्ड माधव पक्षका राम कोइराला सहितका नाम चलेका नेताहरु ओली गुटमा प्रवेश गरेका थिए ।