नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दा हेरिरहेको अदालत र त्यहाँका न्यायाधीश पनि परीक्षामा रहेको बताएका छन् ।
लोकतन्त्रमा कहिले काहिँ सन्की साशक निर्वाचित भएर आउने भन्दै संसद भंग भएको र राष्ट्रपति त्यसको साक्षी भएकाले सबैको विश्वास अदालतमा रहेको बताए ।संसद विघटनको विरोधमा शनिबार चाबहिलमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले कुनै बेला बीपी कोइरालाले न्यायकर्ताले न्यायको अवहेलना गर्यो भने कसैले पनि मर्यादा राख्दैन भनेको स्मरण गरे । भने, ‘गंगोत्रीको जल दुषित भयो भने कुनै पनि जल पवित्र रहन सक्दैन । न्यायको उद्गम स्थल पवित्र रहनुपर्छ ।’
न्यायाधीशले धनगढीको सभा वा कपनको सभा हेर्नुपर्ने, डराउनु पनि नपर्ने केबल संविधान हेर्नुपर्ने उनले बताए । उनले भने, ‘श्रीमानहरुलाई यति मात्र आग्रह गर्न चाहन्छु, याद गर्नुस् । श्री ३ मोहनशम्शरले शासन गर्न पुर्पुरोमा लेखेर आउनुपर्छ भन्दा बीपीले भन्नुभयो, पुर्पुरोमा लेखेका आधारमा शासन गर्ने दिन गए महाराज ।’
‘श्री ३ महाराजसँग टाउकोमा श्रीपेच थियो । सेनाको तगत थियो । तर बीपीको मनबाट, जनताको मनबाट श्री ३ महाराजको भरोसा उडेको थियो, डर हराएको थियो’ उनले अघि भने, ‘श्रीपेच लगाउने रणाजीसँग त भरोसा गएपछि डर हरायो भने आज टोपी लगाउने पनि याद गर्नुपर्छ, भरोसा गयो भयो डर जान्छ ।’