अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा आफू उपस्थित नहुने घोषणा गरेका छन्।
नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका हुन्। यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ।
ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ।
उक्त घटनाका कारण ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध लगाएका थिए। करिब बाह्र घन्टापछि ट्वीटरले निषेध हटाएको छ। त्यसलगत्तै ट्रम्पले एउटा भिडिओ सार्वजनिक गरेका थिए, जसमा उनले बुधबार भएको हिंसाको निन्दा गर्नुका साथै शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुने संकेत गरेका थिए।
उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन। उनले आफू समारोहमा जान इच्छुक रहेको जनाएका छन्।तर उनको यो परिवर्तित शैली धेरै समय टिकेन।उनले फेरि आफ्नो पुरानै शैलीमा ट्वीट गर्दै आफ्ना मतदाताको बचाउ गरे। उनले भने, ‘सात करोड ५० लाख महान अमेरिकी देशभक्त, जसले मलाई भोट दिए, जसले अमेरिका फस्ट र अमेरिकालाई फेरि महान बनाउने अभियानलाई भोट दिए, भविष्यमा उनीहरूको आवाजको सुनुवाइ हुनेछ। उनीहरूको अपमान हुने छैन वा उनीहरूमाथि कुनै किसिमको भेदभाव हुने छैन।’