प्रधानमन्त्री केपी ओलीले चार दशकयता सहकार्य गरेका नेता माधवकुमार नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ भएको कटाक्ष गरे । ‘द्वितीय अध्यक्ष’ नपाएर पार्टी फुटाएको अभियोग पनि लगाए । तर दुई चिरा भएको नेकपामध्ये प्रचण्ड-माधव समूहमा उनै माधव नेपाल पहिलो बरियतामा रहेको खुलासा भएको छ ।
शिलापत्रले ओलीको आरोपबारे नेकपाका स्रोतहरूसँग जान्न चाहेको थियो । यसैक्रममा हामीले प्रचण्ड-माधव समूहको बैठकको माइन्युट फेला पारेका छौँ । शिलापत्रलाई प्राप्त कागजातअनुसार बरियताको पहिलो लहरमा माधव नेपाल छन् । अनि मात्रै प्रचण्डको नाम छ ।
रोचक के छ भने ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको नाम यही डकुमेन्टमा उल्लेख छ । अर्काे राेचक पक्ष, माधवलाई पहिलाे बरियताकाे अध्यक्ष मान्ने त्याे पुस १९ काे बैठक पूर्वमाओवादीकाे मुख्यालय पेरिसडाँडामा बसेकाे छ ।
‘सुरुमा माधवजी र प्रचण्डबीच केन्द्रीय समिति बैठकपिच्छे अध्यक्षता फेरिने सहमति भएको थियो, तर प्रचण्डजीकै प्रस्तावमा फेरि निर्णय बदलिएको छ । अब माधव कमरेड पहिलो बरियतामा हुनु हुनेछ । अर्को स्थायी कमिटी बैठकपछि प्रचण्ड पहिलो बरियताको अध्यक्ष बन्नुहुने छ,’ नेकपा उच्च स्रोतले जानकारी दियो ।
ती नेताका अनुसार प्रत्येक स्थायी कमिटी बैठकपछि अध्यक्षता फेरिने छ । माधवपछि प्रचण्ड, प्रचण्डपछि माधव ।
‘माधवजी प्रचण्डको कार्यकर्ता होइन, न त प्रचण्डजी नै माधवको कार्यकर्ता,’ ती नेताले शिलापत्रसँग प्रश्न गरे, ‘तर केके कम्युनिस्ट पार्टीमा कोही कार्यकर्ता नै बन्न पुग्यो भने पनि के त्यो उसका लागि अपमानको विषय हो र ? पार्टीको सदस्य बन्नु नै सबैभन्दा ठूलो सम्मान हो । अध्यक्ष भएर पनि हिजो ओलीजीले त्यो सम्मानको मान राख्न सक्नुभएन ।’
हामीले अध्यक्ष नेपालसँग यसबारे सोध्दा उनले टिप्पणी गर्न अस्वीकार गरे । उनले शिलापत्रसँग अन्तर्वार्ताका क्रममा ओलीले लगाएका व्यक्तिगत लान्छनाको प्रतिवाद गर्न आवश्यक नरहेको बताए ।
‘उहाँ सीमा नाघेर बोल्नुभएको छ । उहाँले एकदमै तल्लो स्तरमा उत्रेर बोल्नुभएको छ । उहाँका बारेमा म बोल्न केही पनि चाहन्नँ । यसबारेमा जनताले नै हिसाबकिताब गर्नेछन्,’ नेपालले भने, ‘उहाँ कुन स्तरको मान्छे हुनुहुन्छ, कति बदलाकाे भावनाले चल्नुहुन्छ, कुन तहसम्म तल झर्न सक्नुहुन्छ भन्ने उदाहरणका लागि उहाँका अहिलेका काम, गतिविधि र अभिव्यक्ति नै काफी छन् ।’
नेपालले आफू पार्टीकाे विभिन्न पदहरूमा बसेर जिन्दगी बिताएकाे नेता भएकाे भन्दै बरियतालाई इस्यु नबनाउन अनुराेध गरे ।