राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विषयलाई लिएर भ्रम छर्ने प्रयास भइरहेको बताएका छन् ।
राष्ट्रिय सभामा बोल्दै सांसद भट्टराईले प्रधामन्त्रीको कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने गरेको बताएका हुन् ।
‘कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कमदलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने र भ्रम छर्ने कोशिस गरिरहेका छन्,’ उनले भने, ‘यो आरोप हो । कुनै पनि तानाशाह तिथिमिति तोकेर चुनावमा जाँदैन । जनता माझमा जाँदैन ।’
उनले नेपालको राजनीतिक इतिहासमा दलीय प्रवृत्तिको पुनरावृत्ति भएको बताए । उनले प्रधानमन्त्री ओलीको शक्तिशाली सरकारविरुद्ध बन्चरो चलाउने काम भएको भन्दै आज केपी ओली र कुनै बेला विपी कोइरालाले यस्तै समस्या भोगेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले रहर र लहडले उक्त कदम नचालेको भन्दै उनले भने, ‘यो रहर र लहडले होइन । भारी मनले गरेको काम काम हो । पार्टीभित्रैबाट काम गर्न दिइएन । आफ्नै नेतृत्वविरुद्ध विरोध गरेर आनन्द लिइयो । अवरोध गरियो, किचकिच गरियो ।’
उनले प्रतिनिधि सभा दाउपेचको अखडा बनाउन थालिएको र पद भागबन्डाको दुष्चक्रमा पार्न खोजिएकाले विघटन गर्नुपरेको बताए ।