जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन् ।
मङ्गलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक सङ्कट विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेकपाको ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताए ।
सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गरे । फेरिफेरि पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन् कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाइ छ ।