नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा डाकेर महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटमा प्रतिनिधिसभा बिघटनपछि उत्पन्न परिस्थिति र नेकपाको एकता बचाउने विषयमा कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो समूहमा विशेष जिम्मेवारी लिएर रहन आग्रह गरेको विश्वस्त स्रोतले बताएको छ । तर, वामदेवले त्यसलाई ठाडै अस्वीकार गर्दै एकता अभियान शुरु गर्न लागेको बताएका थिए । उनले कुनै पनि समूहमा नलागी एकता अभियानमा केन्द्रित हुने तयारी भइरहेको सुनाएका थिए ।
गौतमले अझैपनि एकताको सम्भावनाको सूत्रबारे छलफल गरेका थिए । संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पनि नेकपालाई फुट्न नदिने भन्दै उनले आफू एकताको अभियानमा सशक्त रुपमा लाग्ने बताएका थिए । गौतमले केही दिन अघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भएको छलफलमा एकताबारे भएको कुराकानीबारे पनि छलफल गरेका थिए ।
दुई नेताबीच पार्टी एकताको सम्भावनाबारे पनि कुराकानी भएको बुझिएको छ । गौतमले एकताको सूत्रबारे छलफल गरेका थिए । विश्वस्त स्रोतका अनुसार उनले संसद पुर्नस्थापना, ओलीको पूरा कार्यकाल सरकारमा रहने सुनिश्चित वातावरणलगायतको सम्भावनालाई सूत्रका रुपमा सुनाएका थिए ।नेकपाको एकताका लागि गौतमले १५ सय एक सदस्यीय एकता अभियान चलाउने तयारी गरेका छन् । उनले यसै हप्ता अभियानको घोषणा गर्ने बुझिएको छ ।