प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले संयुक्त आन्दोलनका लागि ढोका खुला राख्दै एकल आन्दोलनको तयारी गर्ने भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संयुक्त आन्दोलनका लागि समेत प्रयास गर्ने ठहर गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।
‘आगामी आन्दोलनबारे छलफल भयो। आन्दोलनलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टी पंक्तिको प्रयोग गर्ने भनेर छलफल भयो,’उनले भने, ‘संयुक्त आन्दोलनका लागि प्रयास हुन्छ। हामी आफैं पनि गर्छौं। संयुक्त आन्दोलनको ढोका खोलेर एकल आन्दोलनको तयारी गर्छौं।’
बैठकमा मूलत: राष्ट्रिय परिस्थितिबारे छलफल भएको र आन्दोलनको समीक्षा भएको उनले बताए।
यसैगरी बैठकले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ।
बैठकले पार्टी संगठनको एकीकरणको बाँकी काम पूरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो।
टोलीमा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरूको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरू पूरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए।