लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको निर्वाचन क्षेत्र छोड्न चेतावनी दिएका छन् । सोमबार चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीमाथि लगाएका सबै आरोप फिर्ता गर्न र सार्वजनिक माफी माग्न आग्रह गरेका छन् ।
‘कमरेढ माधव नेपाल केपी ओलविरुद्ध लाग्दा धेरै महंगो पर्यो भन्न थाल्नुभयो । पश्चाताप गर्दै हुनुहुन्छ होला । एक जना नेताले मिलेर चुनाव लडे बल्ल जितिएला भन्न थाल्नु भयो रे । पहिले त केपी ओलीको अनुहार देखायो भने जनताले घृणा गर्छन् भन्नुभयो तर, अहिले जनताका लागि केपी ओलीको अनुहार चाहिन थाल्यो ?’, उनले भने, ‘प्रधानमन्त्रीमाथि माधव र प्रचडजीले कारबाही गर्नुभएको छ । तर, प्रधानममन्त्रीले कसैलाई कारबाही गर्नु भएको छैन् ।
प्रचण्डजीले अध्यक्ष पदको दुरुपयोग गरेकाले कार्यकारी अधिकार मात्र खोसिदिएको छ । अहिले पनि यो पार्टीका रुपमा प्रचण्ड अध्यक्ष छँदै हुनुहुन्छ । तर, अब एउटा सर्त उहाँले पालना गर्नुपर्छ । उहाँले प्रधानमन्त्रीविरुद्ध लगाएको अभियोग र कारबाही फिर्ता लिनुपर्छ माफी माग्नुपर्छ । त्यसपछि प्रमुख अतिथिका रुपमा चितवनका जनताले राख्नेछन् । नत्र प्रचण्डजीले चितवनबाट चुनाव लड्न सम्भव छैन् । अर्को ठाउँ खोजे हुन्छ ।’
मुख्यमन्त्री पोखरेलले नेता नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको बताएका छन् । उनले प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लाग्दा पार्टी दुर्घटनामा परेको बताएका छन् ।
‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन । यसपटक कमरेड प्रचण्ड फस्नुभयो । उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन् ।’