जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् ।
बुधबार (आज) काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरेका छन् ।
उनले भने, ‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ ।
यो नौलो कुरा होइन । तर, आफ्नो पद धरापमा पर्यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो । उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ । आफूसँग बहुमत छ भने फेश गर्नुपर्छ । तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न । दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेश गर्नुपर्छ ।’
उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने, ‘अहिलेको अवस्था र अन्यौलबाट मुलुकलाई बचाउनको लागि हामीले अदालतमा बिन्ती गरेका छौं ।
विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद स्थापित भएका उदाहारण र ईतिहास छ। नाजायज कुरा र संविधानविपरितका कुरा सुरुदेखि नै बदर हुन्छ । हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौं । अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन ।’