जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेसन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा अहिलेपनि जिवित रहने निष्कर्ष सहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको बताए । उनले भने ‘प्रतिनिधिसभा अहिलेपनि जिवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्नको निम्ति आव्हान गर्नेपनि निर्णय गरेका छौं ।’ प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा कन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि संघीय परिषद अध्यक्ष डा. भट्टराईले बताए । उनले भने ‘यसको विरुद्धमा हामी संघर्षका सबै रुपहरु अपनाउँछौं । मुख्य रुपमा सडक संघर्षमा हामी जान्छौं । त्यसका निम्ति भोली ८ गते सबै जिल्ला सदरमुकामहरुमा जुलुस प्रदर्शन गर्ने पहिले नै घोषणा भइसकेको छ । आज नयाँ थप हामीले गरेका छौं । १० गते सबै जिल्ला सदरमुकामरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकामहरुमा र अन्यत्रपनि मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने र अरु ठाउँमा सभा जुलुसहरु गर्ने यो तत्काल पहिलो चरणको कार्यक्रम गर्ने छौं । त्यस अतिरिक्त अरु दलहरुसँग पनि बुझेर उहाँहरु कुन ढंगले आउन सक्नुहुन्छ । तालमेल गरेर जान सक्ने पनि ढोका खुला राखेका छौं ।’