आज ओलीले नेकपा भङ्ग गर्दै एमाले ब्युँताउने तयारी

काठमाडौं, ६ पुस । हिजो मात्रै संसद विघटन गरी मध्यावधि निवार्चनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफु निकट नेतालाई बालुवाटार बोलाएर पूर्व माओवादीसँगको पार्टी एकता भङ्ग भएको घोषणा गर्ने भएका छन् । उनले नेकपा एमाले पार्टी ब्युँताउँदै नयाँ स्वरुप दिने तयारी समेत गरेका छन् ।

२०७५ जेठ ३ गते तात्कालीन नेकपा एमाले र माओवादी पार्टीको एकता भई नेकपा गठन भएको थियो । एकतापछि नेकपाको अध्यक्षमा ओली र पुष्पकमल दाहाल प्रचण्ड थिए । पार्टीमा विवाद बढ्दै गएपछि दुई अध्यक्षबीच कहिले बोलचाल बन्द त कहिले आरोप प्रत्यारोप हुँदै आएको थियो ।

आइतबार ओलीले आकस्मिक रुपमा संसद विघटन गरेपछि आक्रोशित प्रचण्डले पार्टी वनेताहरु झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमको सहयोगमा अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेका छन् । भोली बस्‍ने केन्द्रीय समिती बैठकले ओलीलाई कारवाही गर्ने सिफारिस अनुमोदन गरी पार्टीको जिम्मेवारीबाट हटाउने छ ।

यता प्रधानमन्त्री ओलीले आजै ११ बजे बालुवाटारमा आफुनिकट नेतालाई बोलाएका छन् । उनले २०७५ जेठमा भएको पार्टी एकता भङ्ग गरी नेकपा एमाले ब्युँताउने गरी छलफल गर्न लागेको स्रोतको दाबी छ । ओलीकै निर्देशनमा नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा यस अघि नै दर्ता भैसकेको छ । ओलीले सोही पार्टीलाई सक्रिय बनाएर आफु संरक्षक बस्ने गरी छलफल गर्न लागेको ओलीनिकट नेताले बताए ।

ओलीको नयाँ पार्टीमा सुवास नेम्वाङ वा शंकर पोखरेल अध्यक्ष र भर्खरै प्रचण्डलाई छाडेर ओली गुटमा लागेका पूर्व माओवादी नेता रामबहादुर थापा बादल सहअध्यक्ष रहने चर्चा छ । थापाबाहेक पूर्व माओवादीका केही नेताहरु ओलीसँग निकट हुदै गएका छन् । पूर्व माओवादीबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेललगायत नेताहरु ओलीसँग नजिक भएको भनिएपनि गजुरेलले भने आफु प्रचण्डसँगै रहेको बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *