संसद विघटनको विरोध गर्दै राप्रपाले गर्‍यो निर्वाचनको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको ताजा जनादेश लिने कुरा प्रजातान्त्रिक भएको ठहरसहित निर्वाचनमा जानुपर्ने निर्णयमा पुगेको छ। तथापि, उसले पार्टीको औपचारिक निर्णयमा भने सो कुरा उल्लेख गरेको छैन।

संसद विघटनको निर्णयसँगै आइतबार बसेको राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले यस्तो निर्णय लिएको बताइएको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै एक जना केन्द्रीय सदस्यले चुनावमा जानुपर्नेमा बैठक केन्द्रित भएको र त्यसमा तीन जनै अध्यक्षसहित पदाधिकारीको सहमति रहेको जानकारी दिए। बैठकमा अध्यक्ष कमल थापाले जनताको मन जित्ने गरी चुनावका लागि तयार हुनुपर्ने बताएका थिए।

बैठकपछि जारी राप्रपा बैठकको निर्णयमा संसद विघटन संविधान र प्रजातन्त्रिक मूल्य मान्यताविपरीत रहेको ठहर गरिएको छ राप्रपाले नयाँ चुनावलाई भने स्वागत गरेको ती केन्द्रीय सदस्यले बताए।

राप्रपाको आधिकारिक निर्णयमा भनिएको छ, ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि, कमी-कमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीतिअनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।’

निर्णयमा राप्रपाले संसद विघटनलाई ‘मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा राष्ट्रपतिले तटस्थ भूमिकालाई विवादास्पद तुल्याएको’ भनेको छ।

आकस्मिक बैठकमा अध्यक्ष थापाले पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै जनआन्दोलन २०६२/६३पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको तथ्यलाई थप पुष्टि गरेको बताए।

उनले परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमि कमजोरी सच्याउने र सबै नेपाली अटाउने राजनीतिक संरचना तथा शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सबै पक्षको सहयोग लिनुपर्ने बताए।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको भन्दै थापाले पछिल्लो कदमले प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पुर्‍याएको बताए।

बैठक अर्का अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा भएको थियो। बैठकमा अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको केन्द्रीय सदस्य तथा युवा नेता राजाराम बर्तौलाले बताए।

बैठकमा नेताहरू बुद्धिमान तामाङ, हरिबहादुर बस्नेत, विक्रम पाण्डे, निरन्जन थापा, ठाकुर शर्मा, भुवन पाठक, रोशन कार्की, कुन्ती शाही, श्याम तिमल्सिना, दुर्गा श्रेष्ठ, विक्रम थापा, राजाराम श्रेष्ठ, ध्रुवबहादुर प्रधानलगायतले धारणा राखेका थिए।

अध्यक्ष थापाले नयाँ चुनावमा जाँदा भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनको कुरालाई मार्गचित्र बनाएर जानुपर्ने बताएका थिए। उनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका थिए।

राप्रपा धर्मसापेक्ष, हिन्दु राष्ट्र र राजसंस्था पक्षधर हो। पार्टी एकतासँगै राप्रपाले सोही मुद्दा उठाइरहेको छ भने सडकमा भइरहेका राजसंस्था पक्षधरको आन्दोलनमा समर्थन र साथ दिइरहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *