केपी ओली नमर्नु नै उनको सबैभन्दा ठूलो गल्ती : अध्यक्ष थापा

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले केपी ओली नमर्नु नै उनको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

प्रधानमन्त्री ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले आइतबार धनगढीमा आयोजित ‘पार्टी एकताको पक्षमा युवाको भूमिका’ विषयक भेलामा प्रधानमन्त्रीको बचाऊ गर्दै उनका पछिल्ला कदमप्रति समर्थन जनाएका छन्। थापा प्रधानमन्त्री ओलीनिकट मानिन्छन्।

उनले भने, ‘सातौैं राष्ट्रिय महाधिवेशनको बेलामा केही नेताहरुले केपी ओलीका विचार ठिक छन् तर केपी ओली मरिहाल्नुहुन्छ, मर्ने मान्छेलाई किन नेता बनाउनु भन्दै हिँड्नुहुथ्यो।’

साताैं राष्ट्रिय महाधिवेशनमा राजनीतिकशास्त्र पढेका छौं भन्नेहरुले केपी ओली मर्ने भएकोले भोट नदिऊँ भनेका थापाले बताए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन कदमप्रति थापाले बचाउ गरेका छन्। उनले यो कदम प्रधानमन्त्री ओलीले बाध्यतावश अपनाउनुपरेको कदम भनी प्रतिक्रिया दिएका छन्।

ओलीको प्रशंसा गर्दै उनले बिपी कोइराला र अन्य पुराना नेताहरुले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेका भन्दै तारिफ गरे। आफू पार्टी एकताकै पक्षमा भएको भन्दै उनले ओलीलाई सबैले बाध्यतामा पारेका दाबी गरे।

उनले जनताको जनमतलाई अनादर गरेर काम गर्न नदिने, बाधा–व्यवधान सिर्जना गर्ने, हातखुट्टा बाँध्ने, समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना भएको सरकारलाई कमजोर बनाउने पार्टीभित्रको खेल र देशविदेशी शक्तिहरूले साँठगाँठ गरेर गरिएको षड्यन्त्रपछिको बाध्यात्मक कदम भएको बताए।

उनले जनताले यो सरकारले पाँच वर्षसम्म राम्रोसँग काम गरोस् भन्ने भए पनि आफ्नै दलभित्रबाट अप्ठ्यारोमा पारिएको बताए। युवा संघद्वारा आयोजित उक्त भेलामा ओली गुटका नेता कार्यक्रर्ताको सहभागिता थियो। कार्यक्रममा अनेरास्ववियू संयोजक ऐन महर, युवा संघका उपाध्यक्ष रमेश पौडेल, पूर्वप्रतिनिधिसभा सासंद, प्रदेश सासंद र स्थानी जनप्रतिनिधिको सहभागिता थियो। थाहा खबरबाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *