हाम्रो सबैभन्दा नजिकको सौर्यमण्डलतिरबाट रेडियो संकेत आयो, एलियनले पठाएको हुन सक्छ

काठमाडौं। वैज्ञानिकहरुले हाम्रो सौर्यमण्डलभन्दा बाहिरबाट आएको एक रोचक रेडियो तरंग संकेतको बारेमा विस्तृत अध्ययन सुरु गरेका छन् । हाम्रो सौर्यमण्डलबाहिर जीवनको खोजीका लागि थालिएको सबैभन्दा विस्तारित खोजी अभियानका खगोलविदहरुले यो रेडियो तरंग उत्सर्जनबारे अध्ययन सुरु गरेका हुन् । वैज्ञानिकहरुका अनुसार यो तरंग प्रोक्सिमा सेन्चुरीको दिशातिरबाट आएको थियो । प्रोक्सिमा सेन्चुरी हाम्रो सौर्यमण्डलबाट सबैभन्दा नजिक रहेको तारा हो ।

रेडियो तरंगको यो सानो किरण अस्ट्रेलियाको पार्केस टेलिस्कोपले ३० घण्टे निगरानी गर्ने क्रममा गएको अप्रिल र मे महिनामा फेला पारेको द गार्डियनले बताएको छ । वैज्ञानिकले यसको विषयमा अध्ययन गरिरहेका छन् तर यो तरंग जमिनमा रहेको कुनै उपकरणबाट उत्सर्जन गरिएको हो वा कुनै स्याटेलाइटबाट भन्ने पत्ता लागिसकेको छैन । वैज्ञानिकहरुले अन्तरिक्षमा रेडियो तरंगका विचित्र विष्फोटहरु पनि देखिरहेका छन् तर यी विष्फोट प्राकृतिक कारणले भएको हो वा मानवीय हस्तक्षेप हुन् भन्ने प्रस्ट हुन सकेको छैन ।

यो पछिल्लो संकेतमा सांसारिक व्याख्या समेत हुन सक्ने सम्भावना छ । करिब ९८० मेगाहर्जको यो तरंग चलायमान ग्रहको दिशातर्फ नै आइरहनुले यसमा केही आशालाग्दो खोज हुन सक्ने मानिएको छ । प्रोक्सिमा सेन्चुरीका दुई ग्रह भएको अहिलेसम्मको अनुसन्धानमा भेटिएको छ । तीमध्ये एउटा ग्यास भरिएको ग्रह हो र अर्को ग्रह चट्टानी संसार भएको मानिएको छ । चट्टान भएको यो ग्रह पृथ्वीभन्दा करिब १७ प्रतिशत ठूलो छ । यो ग्रह ह्याबिटेबल जोनमा रहेको सूर्यलाई परिक्रमा गर्छ जहाँको तापक्राम पानी बग्न र जम्मा हुनको लागि उपयुक्त मानिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *