युवासंघ नेपालका केन्द्रीय इञ्चार्ज महेश बस्नेतले टोलटोलमा साईबर सेना गठन गर्न युवाहरुलाई निर्देशन दिएका छन्। सरकारका विरुद्ध भ्रम फैलाउनेहरुलाई तह लगाउन साईबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न युवाहरुलाई आग्रह गरेका हुन्।
नवलपुरको गैँडाकोटमा शनिबार युवाहरुको भेलालाई सम्बोधन गर्दै पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले योजनाबद्ध रुपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दावी गरे। सरकारले विकास र सुशासनका लागि काम गरिरहेको अवस्थामा त्यसविरुद्ध प्रतिपक्ष दलहरुबाट गलत प्रचारबाजी भईरहेको बस्नेतले जिकिर गरे।
सरकारले ल्याएका लोकप्रीय कार्यक्रमहरुलाई जनताका माझमा लैजान युवाहरुले भूमिका खेल्नुुपर्ने बताए। पाँच वर्षसम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेर संसदमा वकालत गर्ने पार्टीका नेताहरुले नै राजीनामा माग गरिरहेको सन्दर्भमा बस्नेतले अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल कोहिसँग पनि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नैतिक अधिकार नभएको बताए।
पार्टिभित्र अनेक दाउपेच र कुण्ठाका श्रृखंलाहरु देखिएको भन्दै त्यो कसैको हितमा नभएको उनले प्रष्ट पारे। आगामी महाधिवेशन सम्म बहुमत या अल्पमतको नाममा छिनोफानो नगर्ने निर्णय प्रचण्ड र ओली बिच भएको उनको दावी छ। पार्टी एकता जोगाउन र मजबुत गराउन लागिपर्ने र जोगाउन नसकिए पचाउन सक्ने क्षमता राख्न पनि आग्रह गरे।