जिल्लाको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गर्नुभएको छ । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहँुदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएको थिन ।
राष्ट्रिय समाचार समिति (रासस)बाट गत मङ्सीर २२ गते ‘सय वर्ष पार गर्दा पनि छैन नागरिकता’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेकोे जानकारी दिए ।
“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ ।” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मनुभएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।”
नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित हुनुभएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ । पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आइरहेको बाताइएको छ