कार्मरोंग गाउँपालिकालाइ समृद्ध बनाई नमुना गाँउपालिका बनाउने : अध्यक्ष लामा

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका नामले चिनिने जिल्ला हो, मुगु । यहाँ एक नगरपालिकासहित तीन गाँउपालिका गरी ४ वटा स्थानीय सरकार रहेका छन् । यी चार स्थानीय तहमध्ये सबैभन्दा बढी पर्यटकीय क्षेत्र भएको, बहुमुल्य जडिबुटी यार्सागुम्बाको भण्डार, वन्यजन्तुहरु नावर, घोरल, थाप, रतुजा डाँफे, मुनाल कस्तुरी, झारत, हिमाली बाघ, भालु लगायत रहेको गाँउपालिका हो– मुगुम कार्मरोंग गाउँपालिका । यस गाँउपालिकामा प्रायःजसो लामा समुदायको बढी बाहुल्यता रहेको छ । यहाँ पर्यटन क्षेत्रबाट गाँउपालिकालाई समृद्ध बनाई नमुना गाँउपालिका बनाउने गाँउपालिकाको उद्देश्य गाँँउपालिका अध्यक्ष बताउँछन् ।

यस गाँउपालिकामा लामा, कामी, क्षेत्रीको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार मुगुम कार्मरोंग गाउँपालिकाको जनसङ्ख्या ५ हजार ३९६ रहेको छ । यसको क्षेत्रफल २ हजार १०६ दशमलव ९१ वर्ग किलोमिटर छ । यो गाउँपालिका अन्य ४ वटा स्थानीय तहहरूमध्ये भौगोलिक हिसाबले ठुलो रहेको छ । यहाँ जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना रहेको छ ।

देशमा संघीयता लागु भएको करिब ३ वर्ष बितिसक्यो । तीन सरकारमध्ये नजिकको सरकार हो, स्थानीय सरकार । नजिकको स्थानीय सरकारले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता, वाचा–कसम कति पूरा भएका छन् त ? यसै विषयमा मुगुम कार्मरोंग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामासँग न्यूज २४ कर्मी दानबहादुर बुढाले गरेको कुराकानीकाे सम्पादित अंश :

अध्यक्ष ज्यु, तपाईंको तीन वर्षे कार्यकाल कस्तो रह्यो ?

– यो स्थानीय सरकार सञ्चालन भएपश्चात अहिले तीन वर्षको अवधि विकास निर्माणलगायत गाँउपालिकाको व्यवस्थापनमै बित्यो । यो तीन वर्षमध्ये २ वर्ष जनतासँग हातेमालो गर्दै विभाजित विकासे योजनाहरुको काम गर्दै बित्यो । यति मात्र हैन, कर्णाली प्रदेश सरकार, जिल्ला, गाँउमा हुने कार्यक्रमहरुको गोष्ठीमा जाने भएकाले तलमाथि गर्दै १ वर्ष गयो । पछिल्लो छ–सात महिना लकडाउकनमै खेर गयो । विकासमा फड्को मार्न सकिएन ।

गाँउमा सिहंदरबार आयो भन्छन्, यसको प्रत्याभुति कत्तिको गरेका छन् त जनताले ?

– मैले जनता माझ गर्नुपर्ने काम गरेकै छु । जनताको पनि उही भनाइ छ । जुन मैले उद्देश्य बोकेको थिए । अहिले त्यही भएको छ । प्रत्येक वडामा (बत्ती) उज्यालो बाल्ने, खानेपानी नभएको ठाँउमा खाने पानी पुर्याउने । अहिले गाँउपालिकाबासीले खानेपानी, विद्युत, सडक सन्जाल, आयआर्जनका काम गाउँमै भैरहेको अनुभूति गरेका छन् । विगतमा सामान्य कामका लागि पनि २–३ दिन लगाएर सदरमुकाम गमगढी पुग्नुपथ्र्यो । अहिले गाँउघरबाटै सेवा–सुविधा दिइएको छ । यसर्थ गाँउमा नै सिंहदरबार आएको प्रत्याभुति जनताले गरेका छन् ।

तपाईको गाँउपालिकामा लकडाउनका बेला विकास निर्माण कत्तिको प्रभावित भयो ?

– यो विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) ले हाम्रो गाँउपालिका मात्र नभई विश्वलाई नै दुर्दशामा पार्यो नि । यो लकडाउनको बेला जो गर्नुपर्ने काम थिए, ती हुन सकेनन् । भर्खरै सम्पन्न भएको गाँउ सभामा दर्जनौँभन्दा बढी योजना विनियोजित भएका थिए । ती योजना अपुरा नै रहे । अहिले विकासको बाधक भनेकै लकडाउन र कोभिड १९ होे । हाल ती योजनाहरु कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय भएका योजना अधुरा रहेका छन् । अब ती योजनालाई पुनःनिर्माण गर्ने गाँउपालिकाको लक्ष्य रहेको छ । बाँकी रहेका योजनालाई छिट्टै सम्पन्न गरिहाल्छौँ ।

जिल्लाका अन्य स्थानीय तहमध्ये कार्मारोंग गाउँपालिका भुगोलले पनि ठुलो छ, गाँउपालिकाको खास लक्ष्यचाहिँ के छ नि ?

– हो, मुगु जिल्लाका ४ स्थानीय तहमध्ये कार्मारोंग गाँउपालिका भुगोलले मात्र ठुलो नभई, कृषि, पशुपालन, जडिबुटी, संस्कृति, रीतिरिवाज, वन्यजन्तु वनस्पति, तामाखानी आदिका हिसाबले धनी र पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यो गाँउपालिकाका स्थानीयको पहिलो रोजाइ भनेकै कृषि हो, यहाँ खेतीयोग्य जमिन पनि उत्तिकै रहेको छ । विश्वकै बहुमुल्य जडिबुटी यार्सागुम्बा पनि यहाँ पाइन्छ । हिन्दूका चार धाममध्येको एक अर्थात् सतीदेवीको अन्तिम अंग खसेको मानिने ठाँउ छाँयानाथ धाम हाम्रै गाँउपालिकामा पर्दछ । यस धाममा दर्शन गर्न कर्णालीका जिल्लालगायत अन्य बझाङ, बाजुरा र सुदुरपरिश्चमका भक्तजनहरु बर्सेनी पुग्ने गर्दछन् ।

यहाँ पर्यटकीउ सम्भावना बोकेका कोइकी हिमाल, कान्जीरोवा हिमाल, तालतैलया, बौद्ध गुम्बा, वचन बोल्ने गुम्बा लगायत क्षेत्र छन् । यस गाँउपालिकामा आएका पर्यटकहरुलाई मनोरञ्जन दिन हाम्रो लामा समुदायको परम्पराअनुसार नाज गर्ने यहाँको धार्मिक, साँस्कृतिक चलन अनि स्थानीय फापर सिस्नु, आलु, नाफलबाट बनेका परिकारलगाएत अन्य खानेकुरा खुवाएर आर्थिक उपार्जन गर्न सकिन्छ । यसर्थ गाउँपालिकाको लक्ष्य यहाँको कृषि र पर्यटन उकास्ने नै हो ।

योजना बाँडफाँडमा समान तरिकाले बाडिन्छन् कि राजनीतिक आस्थाका आधारमा विनियोजित हुन्छन् ?

– योजना बाँडफाँडमा राजनीतिक आस्थाका आधारमा बाँडिदैन । कुनै–कुनै स्थानीय तहमा त्यस्तो प्रवृत्ति रहेकाले तपाईले प्रश्न उठाउनु स्वाभाविकै हो । हाम्रो पालिकामा त्यस्तो छैन । विगतका दिनदेखि हालसम्म समान तरिकाले विकासका योजनाहरु समान ढङ्गले नै बाँडेका छौँ । विकास योजनाको बाँडफाँडमा स्थानीयको पनि उत्तिकै उपस्थिति रहेको हुन्छ । किनभने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले योजना छनोट तथा वितरण गर्दा स्थानीयको आम भेलाबाट गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसै अनुरुप हामीले पनि उही तरिकाले गरेका छौँ । जनताको माग र आवश्यकतालाई मध्यनजर गरी योजना वितरण तथा विनयोजन गर्ने गरेका छौँ ।

विकास छनौटमा स्थानीयबासी किन गाउँपालिकामा नै धाउनुपर्छ ?

– विकास निर्माणको छनौटमा जनता आउनु पर्र्यो नि । गाउँस्तरमा योजना छनोट गर्नुपूर्व गाउँमा के समस्या छ ? त्यो त जनताबाट आउने माध्यम हो नि । उहीका अनुसार हामीले विकास बाँडफाँड गर्ने हो । कुन गाँउमा के छ हामीलाई थाहा हुँदैन नि । त्यसैले जनता आउनु एकदमै महत्वपुर्ण कुरा छ । जनताविना कुनै पनि विकास सम्भव छैन । जनताले जे चाहन्छन्, त्यही हामीले सकीनसकी पुर्याउनुपर्छ ।

अहिले यो गाँउपालिकामा जति विकास भए, त्यो जनताको ईच्छा, चाहना, रुचिअनुसारै भएको छ । तर बजेटमा थोरै होला, काममा ढिलै होला तर ईच्छाअनुसार गरेकै छौँ । साथै योजना छनोट तथा वितरण स्थानीयको भेलाबाट नै हुने गरेको छ। छनोट भएर आएका योजनालाई विशेष प्राथमिकताका साथ हामीले स्थान दिएका छौँ । तर सीमित स्रोत र बजेटले स्थानीयले अझै भने जस्तो योजना पाउन सकिरहेको अवस्था भने छैन । स्थानीय वडा-बस्तीबाट छनोट भएका आयोजनालाई प्राथामिकता दिनको लागि पनि जनताहरु गाँउपालिकामा धाउनुपर्ने हुन्छ ।

तपाईंले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार काम गर्नुभएको छ ?

– चुनावमा भौगोलिक हिसाबले ठगिएको यस मुगुम कार्मरोंग गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, पर्यटन र सञ्चारको व्यवस्था गर्छु भन्ने प्रतिबद्धता गरेको थिएँ । अहिले तिनै प्रतिबद्धता कार्यान्वयन गर्दै छु । सबै पूरा भएका छैनन् तर सुरुवात भने गर्दैछु । शिक्षाको अवस्था केही सुधारिएको छ । चुनाव जितेको ३ महिनाभित्रै सबै विद्यालयका प्रधानअध्यापक र व्यवस्थापन समितिका अध्यक्षको भेला गराई २१बुँदे प्रतिबद्धता गराएका छौँ ।

सरकारको दरबन्दी बाहेक गाउँपालिकाले ३० लाख छुट्याएर भाषा शिक्षक राखेका छौँ। काम सकिएको छैन। गर्न अझै बाँकी नै छ । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्ने अवस्था सिस्टम थियो । औषधि नपाउने अवस्था थियो। सिटामोल पाउनलाई सदरमुकाम गमगढी धाउनु पर्थ्यो। अहिले त्यो अन्त्य भएको छ। भर्खरै ५ लाखको औषधि खरिद गरेका छौँ। पहिले ५ नम्बर वडामा मात्रै सञ्चार सुविधा भएकोमा अब ९ वटै वडामा सञ्चार सम्पर्कको व्यवस्था भएको छ ।

गाउँगाउँमा सडक खन्ने काम भइरहेको छ। भौगोलिक विकटताले सडक विस्तारमा समय लाग्ने छ । तर यो काम मेरो कार्यकालभित्रै सम्भव हुन्छ । विद्युत तर्फ चाप्ने गाडमा बत्ती बलि सक्यो । मह र रिउसमा एक सय किलोवाट क्षमताको जलविद्युत आयोजनाको सुरुवाती भएको छ । अब करान भेगमा २ वर्षभित्र सबै वडामा बत्ती बल्छ ।

पर्यटनको सम्भावना भएको यस गाउँपालिकामा धेरै तालतलैया, कोइकी हिमाल, छायाँनाथ धामलगायत धेरै क्षेत्र छन्। तर ती गुमनाम जस्तै छन्। तिनीहरूको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने काम भइरहेको छ ।

काम गर्दै जाँदा कस्ता कस्ता चुनौती भोग्नुभयो ?

– चुनौती र अवसर उस्तै छन् । मुख्य चुनौती त कर्मचारी नहुनु नै हो । भौगोलिक विकटता छ । ३ वटा वडामा मात्र सचिव छन् । स्वास्थ्यकर्मी दरबन्दी अनुसार छैनन् । बजेट कम छ । जति चुनाैती भए पनि जनताकाे सेवा-सुविधाका लागि बाधा-अवरोधलाई छेकेर भए पनि अघि बढिरहेको छु ।

अन्तमा तपाईंका आगामी दिनमा गाँउपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

– अन्तमा म के भन्न चाहन्छु भने यो तीन वर्षको कार्यकालमा जेजति काम गरियो, सन्तोषजनक नै गरियो । जुन जनताका ईच्छा-आकांक्षा थिए, त्यसैअनुसार गरियो । अब मैले चाहेको एउटा मात्र काम बाँकी रहेको छ । त्यो हो, गाँउपालिकालाई जिल्लाकै नमुना गाँउपालिका बनाउने । यति भए पछि मेरो यो ५ वर्षको कार्यकाल यसैमा सन्तुष्ट हुनेछु । पछि आउने साथीले पनि यसरी जनताको ईच्छाअनुसार काम गर्यो भने कुनै पनि क्षेत्रबाट बाहिरिनु पर्दैन । अब यो दुई वर्षको अवधिमा यदि गाँउपालिकालाई नमुना बनाउन सके भने राम्रै भयो, यदि सकिएन भने प्रयास गरौँला । धन्यवाद ।।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *